कञ्चनपुर, २३ असार ।
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका सडक यातायात अबरुद्ध भएको छ ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् ।
सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी रविन्द्र केसीले दार्चुलाको मालिकार्जुन नगरपालिका २ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका ६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका १३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताए ।
डिआईजी केसीले ठूलो पहिरो नखसेकोले यथाशिघ्र पहिरो हटाएर सडक यातायात सुचारु गर्न सकिने बताए ।
डडेल्धुराको रडुवामा पहिरो खसेका कारण डडेल्धुरा डोटी सडक केही समय अवरुद्ध भएपनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।
पहाडी जिल्लाका ग्रामिण सडकहरु समेत बाढी र पहिरोका कारण अबरुद्ध भएका छन् ।
आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका २ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।
अछामको चौरपाटी गाउँपालिका ६ का ९ परिवार र मंगलसेन नगरपालिका ८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।
बझाङको थलारा गाउँपालिकाको झ्याँबगरमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।
डिआईजी केसीले केही ठाँउमा पहिरोको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएपनि हालसम्म मानवीय तथा भौतिक क्षति नभएको बताए ।
सुदूरपश्चिमका चार जिल्ला बाढीको उच्च जोखिममा
बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ ।
आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।
आज र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ । यसैगरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना छ ।
झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरुमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।
यसैगरी मध्यम जोखिम हुने अन्य जिल्लाहरुमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङ समेत छन् ।
सोमबार देशका अधिकांश स्थानका साना नदीहरुमा बहाज बढ्ने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम र मधेश प्रदेशका नदी तथा खोलाहरुमा बाढीको जोखिम छ ।