

झलारी: शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।
समितिका उपाध्यक्ष जयबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नं। १० का अध्यक्ष लालबहादुर ऐर प्रमुख अतिथि रहेका थिए। गरिव तथा विपन्न वर्गका परिवारलाई निःशुल्क रुपमा धारा जडान गर्नुपर्ने अध्यक्ष ऐरले बताए। ‘गरिव तथा विपन्न परिवारलाई खानेपानीको व्यवस्था मिलाउनका लागि वडा कार्यालयबाट १ लाख ५० हजार सहयोग गरेको छु,’ उनले भने, ‘अगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्नेछु।’


खानेपानी उपभोक्ता समितिको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव हरिप्रसाद अवस्थीले प्रस्तुत गरेका थिए। समितिले २०६८ सालदेखि खानेपानी सेवा दिदै आएको छ। दैनिक १ लाख ७५ हजार लिटर पानी वितरण गर्दै आएको सचिव अवस्थीले बताए। उनका अनुसार ८ सय ५५ परिवारले पानी सेवा लिदै आएका छन्
खानेपानी समितिको वार्षिक आम्दानी २३ लाख ८१ हजार ८ सय छ भने खर्च २२ लाख २० हजार ८ सय ४० रुपैयाँ खर्च गरेको छ। संस्थाको नाफा १ लाख ६० हजार ९ सय ६० रुपैयाँ रहेको छ। खानेपानी उपभोक्ता समितिको वार्षिक साधारणसभामा श्रीकृष्ण बहुमुखी क्याम्पसका प्रमुख भवराज निरौला विशिष्ट अतिथि रहेका थिए भने शुक्लाफाँटाका निर्वतमान नगर प्रमुख दिलबहादुर ऐर, तेज शाह, शिवराज भट्टलगायत अतिथि रहेका थिए।
खानेपानी उपभोक्ता समितिको वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र नियमित महसुस बुझाउने उपभोक्तालाई सम्मान समेत गरिएको छ। सम्मानित हुनेमा कर्मचारी सन्तराम राना, उपभोक्तामा दानबहादुर ऐर, गोदावरी ठगुन्ना मार्कण्डी रहेका छन्। खानेपानी उपभोक्ता समितिको वार्षिक साधारणसभामा स्वागत मन्तव्य धर्मा भण्डारीले राखेका थिए भने कार्यक्रम सञ्चालन जोगीसिंह सोवले गरेका थिए।
