

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए। भिसेरा परीक्षणका लागि नेपालगन्जस्थित प्रहरीको विधिविज्ञन प्रयोगशाला र मुटु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको उनले बताए। मुटु र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ।

उनी गत शनिवार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामा-भान्जा चोकनजिक सडकपेटीमा मृत अवस्थामा फेला परेका थिए। उनको शव घोप्टो परेको अवस्थामा थियो। कलौनीको मृत्यु प्रकरणमा अनुसन्धान कार्यमा सहजताका लागि नेपालगन्जबाट आएको चिकित्सकको प्राविधिक टोलीले पोस्टमार्टम गरेको थियो।
पोस्टमार्टम रिपोर्टमा बाहिरी र भित्री चोट नदेखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। मुटुमा अक्लुजन देखिएको रिपोर्ट आएको प्रहरीले बताएको छ। मेडिकल भाषामा अक्लुजन भनेको हृदयघात हो।
