Mantra
Mayametro Hospital

गेटामा विश्वविद्यालय अनुगमन गर्न तँछाडमछाड, अस्पताल चलाउन कन्जुस्याइँ

AD offer
JK

अत्तरिया – पछिल्लो समय काठमाण्डौंबाट सुदूरपश्चिम आएको बेला नेता, मन्त्री देखि प्रधानमन्त्री एक पटक गेटामा पुगिहाल्छन् । पूर्व निर्धारित कार्यक्रम नभए पनि धनगढी विमानस्थल देखि नजिकै रहेको गेटामा एक पटक नेताहरू पुग्ने गरेका छन् । सरकारले दुई वर्ष अघि नै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेको र तीन वर्ष अघि आवश्यक भौतिक संरचना निर्माण गरिएको गेटामा नेताहरूले एक चक्कर लगाएर फर्किने गरेका भए पनि यसको सञ्चालनमा अन्योल कायमै छ ।

मंगलबार पनि गेटामा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुरुमै गेटामा नेपालको सिंहदरबार पछिको दोस्रो ठुलो संरचना बनेको बताए । अनुगमनका क्रममा खालि भवनका कोठा र घुम्टो ओढाइएका मेसिन हेरेका मन्त्री पौडेलले त्यसपछि पनि सञ्चालनका लागि खुलेर प्रतिबद्धता जनाउन सकेनन् । ६ सय शय्याको अस्पताल चलाउने भौतिक संरचना बनेका भवनको अवलोकन गरेर उनले असार सम्म १ सय शय्याको अस्पताल र १०–१२ जना स्कलरसिपका डाक्टर पठाउने भन्दै झारो टारे ।

Mantra

३ सय शय्याको अस्पताल चलाउन शेर बहादुर देउवाले निर्देशन दिएको बताएका उनले त्यसका लागि ६०-६५ करोड लाग्ने भएकाले त्यो जुटाउन सक्ने अवस्था नभएको बताए । ‘असार सम्म ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेर ओएनएम गरिएको छ । ३ सय शय्याको अस्पताल सञ्चालनको लागि ६०-६५ करोड लाग्ने भएकाले त्यो रकम जुटाउन सक्ने अवस्था भने छैन’ उनले भने ‘हाम्रो टार्गेट असार सम्म ३ सय बेडको हो । त्यो सक्दै सकिएन भने १ सय बेडको त जसरी पनि बनाउँन्छौ ।’

mantra Hospital

उनले एमबिबिएसको पढाइ आगामी शैक्षिक सत्र देखि गर्न सकिने बताए पनि त्यसका लागि स्वास्थ्य मन्त्रालय अन्तरगत सञ्चालन गर्ने मोडालिटीको बारेमा चर्चा गरेका थिए । जबकि हाल शिक्षा मन्त्रालय अन्तरगत एमबिबिएस अध्ययन गराउने गरी विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका विचाराधीन अवस्थामा छ । गेटामा स्वास्थ्य र शिक्षा मन्त्रालयको बिच चलेको जुहारीका कारण सञ्चालनमा ढिलाइ भएको चर्चाका बिच मन्त्रीले सोही अभिव्यक्तिलाई बल अभिव्यक्ति दिएका थिए । मन्त्री पौडेलले शिक्षा मन्त्रालयले भवन हस्तान्तरण गर्न नै कन्जुस्याइँ गरेका कारण स्वास्थ्य मन्त्रालयबाट काम गर्न समस्या भएको बताए ।

उनले स्वास्थ्य मन्त्रालयबाट अस्पताल, एमबिबिएस कार्यक्रम सञ्चालन गरेर शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न सकिने भन्दै हाललाई काम गर्न दिइनु पर्ने बताए । त्यसका लागि तत्काल चिकित्सा शिक्षा आयोगबाट निर्णय गराएर ३ सय शय्याको अस्पताल ३ वर्ष नचलेको भए पनि विशिष्ट अवस्थाका कारण एमबिबिएसको पठाइ गर्न सकिने उनले बताए ।

‘छ वटा प्रदेशमा एमबिबिएसको पढाई भइसकेको छ । यो एउटा प्रदेश मात्रै बाँकी हो । त्यसैले यो अवस्थाका कारणले ३ सय बेड ३ वर्ष नचले पनि विशिष्ट अवस्थाका कारणले गेटामा अहिले नै एमबिबिएस पढाइए गरिएको छ भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्छ’ उनले भने ‘यहाँ विशिष्ट अवस्था भएका कारणले ३ सय बेडको अस्पताल ३ वर्ष चलिरहनु पर्दैन ।’

उनले अस्पताल र एमबिबिएसको पढाइ सञ्चालन गर्दैमा विश्वविद्यालय बनाउने काम नरोकिने बताए । ‘अहिले विश्वविद्यालय बनेपछि विश्वविद्यालय ले नै अस्पताल, एमबिबिएस पढाइ सुरु गरिहाल्छ भन्ने कुरा पनि सुनिन्छ’ उनले भने ‘पहिला जे हुन्छ त्यो गर्दै जाऊ, पहिला अस्पताल चलाउन मिल्छ, पहिला एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मिल्छ । त्यही चलेको अस्पताल र एमबिबिएस कार्यक्रममा विश्वविद्यालय भित्र राख्न मिल्छ ।’ गेटामा हाल ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ भने इमर्जेन्सी सेवा समेत सुरु हुन सकेको छैन । गेटामा पछिल्लो २ वर्ष यता प्रधानमन्त्री पदमै रहेका बेला पुष्प कमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न मन्त्री तथा नेताहरूले अवलोकन गरिसकेका छन् ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...