काठमाडौं । दोधारा चाँदनी सुक्खा बन्दरगाह आयोजना निर्माण चरणमा पुगेको छ । सरकारले कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्दैछ ।
यसका लागि आवश्यक प्रक्रिया पूरा भई अब रुख कटान आदेश कुरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार समितिले ९ पुसमा रुख कटान बापत सरकारलाई बुझाउनुपर्ने वन विकासको १४ करोड ८२ लाख ६० हजार रुपैयाँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरेको छ ।
यस स्थानमा संरचना बनाउन विभिन्न प्रजातिका १ हजार ७ सय २ रुख र पोल हटाउनुपर्ने देखिएको छ । यसका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत स्वीकृति प्राप्त भएको समितिले जनाएको छ ।
दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राष्ट्रिय वनको ४२।३६ हेक्टर जग्गा प्रयोग गर्नुपर्छ । यी रुख–पोल हटाउन मन्त्रिपरिषद् बैठकले २ असोजमा स्वीकृति दिएको थियो ।
आयोजनले काट्ने रुखका लागि उक्त क्षेत्र बराबर जमिन उपलब्ध गराउन नसकेका कारण सट्टा भर्नाबापत विभागलाई १४ करोड रुपैयाँ दिएको हो । योसँगै अब रुख कटान आदेश कुरिरहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । उनका अनुसार आदेश आएसँगै रुख कटान प्रक्रिया सुरु हुन्छ ।
यो बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ । आयोजनाको कुल लागत ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
यो संरचना निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेन्डर तयारी गरिसकेको समितिले जनाएको छ । रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित हुने जानकारी भारतीय पक्षले गराएको समेत समितिले जनाएको छ ।
यहाँ अत्याधुनिक सुविधासम्पन्न व्यापार पूर्वाधार सहित पूर्वाधार निर्माण हुँदैछ । आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी खाद्य प्रयोगशाखा ९क्वारेन्टिन०, प्रशासनिक भवन लगायत संरचना बन्ने भएका छन् ।
सरकारले पछिल्लो समय भारत र चीनसँग नाका जोडिएका सीमा नाकामा सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माणलाई गति दिएको छ ।