कञ्चनपुर – कञ्चनपुर र कैलाली बाट लागू औषध सहित एकै दिन ४ जना पक्राउ परेका छन् । मंगलबार कञ्चनपुरको दोधारा चाँदनी र कैलालीको धनगढी बाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका (१ फोर लाइन पुलबाट म १ प ७०४४ नम्बरको मोटरसाइकल चालक जिल्ला भीमदत्त नगरपालिका – १८ का १८ वर्षीय किशोर र पछाडि सवार भीमदत्त नगरपालिका – १० का २४ वर्षीय विमल बिष्ट पक्राउ परेका छन् ।
मोटरसाइकल चेकजाँच गर्दा १८ वर्षीय किशोरको साथबाट १।८८ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मोटरसाइकल र दुवै जनालाई लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट झोलुङ्गेबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
यतै धनगढी उपमहानगरपालिका – ३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका (३ का २७ वर्षीय दीपक सुवेदीलाई ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको र धनगढी उपमहानगरपालिका – ३ मिलन चोकबाट पनि लागू औषध सहित स्थानीय २१ वर्षीय नीराजन बिष्टलाई पक्राउ गरिएको छ । उनको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।