झलारी
शुक्लाफाँटा नगरपालिका वडा नं ५ को कार्यालयले महिलाहरुलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ । घरायसी कामकाजका लागि बनाइँदै आएको दुनाटपरीलाई व्यावसायिक बनाउन महिलाहरुलाई तालिम प्रदान गरिएको हो।
जेठ २८ गते सञ्चालन गरिएको ७ दिने दुनाटपरी बनाउने तालिम आइतबार सम्पन्न भएको छ। वडा नं। ५ का सदस्य दिपा कुँवरको अध्यक्षमा भएको सामापन कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर खड्का प्रमुख अतिथि रहेका थिए।
स्थानीय स्रोतको सदुपयोग गरेर दुनाटपरी बनाउन सकिने भएकाले वडाका २० जना महिलाहरुलाई तालिम दिइएको वडा अध्यक्ष खड्काले बताए। ‘स्थानीय स्तरमै पाइने सालका पातहरुबाट दुना र टपरी बनाउन सकिन्छ, वडाबासीलाई सीपमुलक तालिम सिकाएर आत्मनिर्भर बनाउने वडाको योजना अनुसार यो तालिम सञ्चालन गरेका हौं’, उनले भने, ‘यस तालिममा हामीले २० जनालाई मात्रै सामावेश गर्न सक्यौं, अन्यलाई पनि आवश्यकताको आधारमा सीपमलुक तालिम दिनेछौं।’ वडा कार्यालयसँग बजेट थोरै भएको बताउँदै वडा अध्यक्ष खड्काले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर काम गर्दै आएको बताए।
तालिममा सिकेका कुराहरुलाई कार्यान्वयनमा ल्याउन वडा सदस्य दिप कुँवरले आग्रह गरिन्। ‘यहाँ सिकेका कुराहरुलाई कार्यान्वयन गर्दै व्यावसायिक रुपमा दुनाटपरी बनाउनेतर्फ लाग्नुहोला, वडा कार्यालयले आवश्यक सहयोग गर्नेछ,’ उनले भनिन्, ‘दुनाटपरी सहजै रुपमा बिक्रि वितरण हुन्छ, यसलाई पलास्टिकका सामाग्रीको विकल्पमा समेत प्रयोग गर्न सकिन्छ।’ तालिमा सिकेको सीपलाई सदुपयोग गर्ने कार्यक्रममा सहभागी सुशिला भण्डारीले बताइन् ।
‘विगतमा हामी पुजापाठमा दुनाटपरी बनाउने गथ्र्यौ, यस तालिमबाट हामीले दुनाटपरी बनाउने तथा व्यावसायिकीकरणबारे जानकारी पयौं, यसलाई अब व्यावसायिक रुपमा गर्नेछौं।’ सुदूरपश्चिममा दुनाटपरीको माग धेरै रहेको तालिमका प्रशिक्षक हिरा घर्तीमगरले बताइन्। ‘हामी जन्मिदादेखि मर्दासम्म दुनाटपरीको प्रयोग हुन्छ, त्यसका साथै पछिल्लो समय पलास्टिकजन्य पदार्थ सरकारले बन्द गरेको छ। त्यस कारण पनि दुनाटपरीको माग बढी छ।’
नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम दिदै आएको उद्यम विकास शाखा प्रमुख धनबहादुर चौधरीले बताए। ‘नगरपालिकाले विभिन्न खालका तालिमहरु सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले दुनाटपरी तालिमलाई प्राथमिकता दिएर सञ्चालन गर्दै आएका छौं।’ दुनाटपरीलाई पलास्टिकका कप, गिलास, प्लेटलगायतका सामाग्रीको विकल्पमा प्रयोग गर्न सकिने उनको भनाई छ।
सेतीकाली न्यूज बाट साभार गरिएको