धनगढी : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच तिक्तता नरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्न शुक्रबार कैलालीको धनगढी पुगेका कोइरालाले यस्तो बताएका हुन् ।
कोइरालाले कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नेतृत्वको टोलीसँगको छलफलका क्रममा देउवासँग आफ्नो कुनै तिक्तता नरहेको बताएको जिल्ला सचिव भीम भट्टले बताए ।
जिल्ला सचिव भट्टका अनुसार नेता कोइरालाले सभापति देउवासँगको सल्लाहमै सुदूरपश्चिमका नेता–कार्यकर्ता भेट्न धनगढी आएको पनि बताएका छन् ।
‘साथीहरूले शेखर दाइसँग अधिवेशन लगायत कुरा राख्नुभयो । उहाँले शेरबहादुर देउवा मेरो सभापति र नेता हो । मैले उहाँलाई दाइजस्तै मान्छु भन्नु भयो,’ जिल्ला सचिव भट्टले खबरहबलाई सुनाए, ‘मेरो र उहाँबीचमा केही त्यस्तो छैन । उहाँलाई भनेरै सुदूरपश्चिम आएको हुँ भन्नुभयो ।’
नेता–कार्यकर्तासँगको छलफलका क्रममा कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको स्वाभाविक उम्मेदवार भएको पनि बताए ।
‘१५ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हो । १४ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार भइसकेको र निकटतम् प्रतिद्वन्द्वी भएकाले स्वभाविक दाबेदार हो,’ भट्टले भने, ‘पार्टीलाई अब एक बनाएर लैजानुपर्छ भन्ने कुरा राख्नुभयो ।’
आशन्न १५ औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता कोइराला शुक्रबार सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।
धनगढीमा नेता कोइरालालाई १५ किलोको माला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । सुदूरपश्चिमको भ्रमणमा रहेका उनलाई आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला लगाइएको हो ।
उनलाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । थारु संस्कृति झल्कने पहिरनसहित नृत्य र सुदूरपश्चिमको हुड्केली नाच पनि उनको स्वागतमा प्रस्तुत गरिएको थियो ।