झलारी। जिल्ला प्रहरी कार्यालयको आयोजनामा ईलाका प्रहरी कार्यालय झलारी अन्तर्गतको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। प्रहरीले गरेका काम कारबाही बारे जानकारी र जनगुनासोहरु सुन्नका लागि प्रहरीले नागरिक सुनवाई कार्यक्रम गरेको हो। प्रहरीले हरेक वर्ष सबै पालिकामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनवाई कार्यक्रम गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षक चक्रराज जोशीको अध्यक्षतामा भएको नागरिक सुनवाई कार्यक्रममा शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त र पूर्व मेयर दिलबहादुर ऐर विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा शुक्लाफाटा नगरपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्यहरू विभिन्न संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधि तथा प्रमुखहरूको सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालय झलारीका प्रमुख झलक प्रसाद शर्माले इलाका प्रहरी कार्यालय झलारीले गरेको प्रगति तथा क्रियाकलापहरू प्रस्तुत गर्नुभएको थियो।
इलाका प्रहरी कार्यालय छलारी शुक्लाफाटा नगरपालिकाको १२ वटा वडा कृष्णपुर नगरपालिकाका ९ वडा र लालझाडी गाउँपालिकाको दुई वडा र बेदकोट नगरपालिकाको क्षेत्र यस कार्यालय अन्तर्गत रहेको जानकारी दिनुभयो । हाल झलारी इलाका प्रहरी कार्यालयमा २९ जनाको दरबन्दी रहेको गुलरिया प्रहरी कार्यालयमा २३ जना रहेकोबार प्रहरी कार्यालयमा २२ जना लगायतका ११५ जना प्रहरीहरूको दरबन्दी रहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय झलारीले त्रीवर्षीय तथ्याङ्क अनुसार पाँच सय ६८ मुद्दाहरूमध्ये ४४२ मुद्दाहरूको सफल अनुसन्धान गरेको र बाँकी १२६ मुद्दा अनुसन्धानको क्रममा रहेको जानकारी गराउनुभयो । साथै बढ्दो वैज्ञानिक प्रविधिहरू डिजिटल मिडिया जस्ता सामाजिक सञ्जालहरूको दुरुपयोग हुनु साँघुरो राजमार्ग बढ्दो सवारी चापले सडक दुर्घटनाहरू निम्तिनु अशिक्षा चेतनाको कमी र बेरोजगारीले आत्महत्या लगायतका घटनाहरु घट्नु यस क्षेत्रमा हुने गरेका विभिन्न घटनाहरु रहेको प्रहरीले बताएको छ । साथै उहाँले सीमित स्रोत र जनशक्तिका आधारमा प्रहरीले नागरिकको सुरक्षामा लाग्नुभएको बताउनुभयो ।
नागरिक सुनवाई कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्ना गुनासा र सुझावहरु राख्ने क्रममा शुक्लाफाटा नगरपालिकाको वडा नम्बर १२ र वडा नम्बर ७ र ८ मा अस्थायी प्रहरी पोष्टको माग गर्नुभएको छ । सहभागीहरूले प्रहरीले निष्पक्ष काम गर्न नसकेको आरोप पनि लगाउनुभएको छ। बजार तथा ग्रामीण क्षेत्रमा चोरीका घटना घट्नु यौन व्यवसाय लगायतका समस्या पनि बढेको गुनासो गरेका छन्। लागू औषधका घटनाले समुदाय पीडित भनेको प्रहरीको नागरिक सुनाईमा सहभागीहरुले सुनाएका छन् ।
नागरिक स्तरबाट उठेका गुनासाहरूलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक चक्रराज जोशीले अस्थायी प्रहरी पोस्टको काम अगाडि बढिरहेको जानकारी गराउनुभयो । उहाँले लागू औषध दुर्वेशनको समस्या सर्वत्र रहेको र शुक्लाफाटामा सबैभन्दा बढी समस्याका रूपमा रहेकाले नागरिक स्तरबाट पनि यसमा निर्मम रुपमा सूचना दिनुपर्ने र प्रहरीले कानुनी रुपमा निर्मम भएर कारबाही गर्ने कुराको प्रतिबद्धता गर्नुभएको छ । प्रहरीहरूले नागरिकको गुनासो सुन्नुपर्ने र प्रहरी कुनै पनि किसिमको प्रलोभनमा पर्न नहुने यदि कुनै प्रहरी प्रलोभनमा परेको सूचना भए आफूलाई दिन र कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिनुभयो ।
प्रहरी उपरीक्षक जोशीले चेतनामूलक कार्यक्रमहरूको आवश्यकता रहेकाले प्रहरीले गतवर्ष मात्रै १४०० भन्दा बढी कक्षाहरू सञ्चालन गरेको जानकारी गराउनुभयो । उहाँले चोरी तस्करी गरी भन्सार छली ल्याएका सामानहरू बरामद गर्ने क्रम बढ्दो रहेको र पछिल्ला वर्षहरूभन्दा यस वर्ष चोरी तस्करीका घटनामा प्रहरीले सक्रियतापूर्वक काम गरेको दाबी गर्नुभयो। झलारी बजार व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनका लागि झलारी बजार क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्था गरिने प्रहरी प्रमुख जोशीले बताउनुभयो। उहाँले इलाका प्रहरी अन्तर्गत डिएसपीको नेतृत्वमा कार्यालय सञ्चालनका लागि आवश्यक लेखापढीको काम भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा शुक्लाफाटा नगर प्रमुख रणबहादुर महराले शुक्लाफाटामा शान्ति सुरक्षाका बारेमा सबै विषय प्रहरीसँग जोडिएकाले स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोग र सहकार्यका लागि आफू तयार रहेको र प्रहरीले निष्पक्ष र जिम्मेवारपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी कार्यालयमा एउटै व्यक्तिले बारम्बार विभिन्न घटनाहरु मिलापत्र गराउँदै प्रहरीको निष्पक्ष कामलाई प्रभावित गर्ने काम हुने गरेको प्रति प्रहरीलाई सचेत रहन आग्रह गर्नुभयो।
नगरपालिकामा उपप्रमुखको अध्यक्षतामा न्यायिक समिति रहेकाले प्रहरीमा आउने कतिपय मेलमिलाप गर्न सकिने मुद्दाहरूलाई न्यायिक समितिमा पठाउने र प्रहरीले हेर्नुपर्ने मुद्दाहरूलाई न्यायिक समितिले प्रहरीमा पठाएर घटनाहरूमा सहजीकरण गर्न दुवै पक्षलाई उहाँले सुझाव दिनुभयो । नगरपालिका क्षेत्रमा लागू औषधका घटनाहरू बढ्दो क्रममा रहेकाले पालिकाले प्रहरीसँग मिलेर आवश्यक चेतनामूलक कार्यक्रमहरू गर्न तयार रहेको र चेतनामूलक कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिनुभयो ।