कैलाली: काठमाडौँबाट धनगढी आइरहेको बस बाँकेमा दुर्घटना भएको छ । काठमाडौँबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बस सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो ।
विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा बस रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । बसमा २४ जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको ९ जनाको टोली घटनास्थल पुगेको थियो ।