झलारी: शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका स्थानीयले ढुंगा तस्करीमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। वडा नं. ८ स्थित धारापानी खोलाबाट ढुंगा तस्करी गरि कलुवापुरतर्फ आइरहेका ५ वटा ट्याक्टरलाई बेलडाँडीका स्थानीयले नियन्त्रणमा लिएका हुन्।
स्थानीय टेक साउँदका अनुसार ढुंगा तस्करी गरिरहेका ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउने तयारी भएको छ। ढुंगा तस्करीमा संलग्न ट्याक्टर म १ त ११४४, म १ त ११४१, सुपप्र ०१००२ त ५८७४, सुपप्र ०१००२१ त ६४५८ र म १ त ११९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ।
‘प्रहरीलाई खबर गरेका छौं,’ उनले भने, ‘ट्याक्टरहरुलाई प्रहरीको जिम्मा लगाउँछौं।’ ट्याक्टरहरुलाई नियन्त्रणमा लिन शुक्लाफाँटा नगरपालिकाको नगर प्रहरी गइरहेको छ। ट्याक्टरलाई नियन्त्रणमा लिन गइरहेको नगर प्रहरी इन्चार्ज पदम ऐरले बताए। ‘स्थानीयले ट्याक्टरलाई नियन्त्रणमा लिएका छन्,’ उनले भने, ‘हामी त्यहाँ गइरहेका छौं।’
स्रोत : https://setikalinews.com/news-details/9572/2024-11-23