झलारी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देश बर्बाद पारेको बताएका छन्। बिहीबार शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले तीनै पार्टीले पालैपालो देश बर्बाद गरेको बताएका हुन्।
‘२०४६ सालको राजनीतिक परिवर्तनपछि ३५ वर्षको समय प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि पार्टी तीनै छन्, नेता तिनै छन्,’ उनले भने, ‘कांग्रेस, एमाले र माओपादीले कहिले पालोपालो, कहिले सबै मिलेर देशलाई बर्बादीको बिन्दुमा पुगाएका छन्।’
देश बचाउन र बर्बादीबाट मुक्तीका लागि एउटै विकल्प राप्रपा भएको उनको दावी छ। ‘देश बचाउन आउनुहोस्, कसैले पश्चाताप गर्नु पर्दैन्,’ उनले भने, ‘ यहाँ लागेर पनि उस्तै भयो । राप्रपा, अध्यक्ष लिङ्देन पनि अरु जस्तै चोर रहेछ भन्ने मौका हामी दिदैनौं। अहिलेसम्मको राजनीतिक यात्रामा त्यो प्रमाणित पनि गर्दै आएका छौं।’
देश र धर्म बचाउन राप्रपा हिडेको पार्टी भएको उनको भनाई छ। ‘पहिला देश र धर्म बचाउने र अनि पार्टी बचाउने भन्ने अभियानका साथ हिडेको पार्टी राप्रपा हो,’ उनले भने।
शुक्लाफाँटा नगरपालिकाका विभिन्न पार्टीमा आवद्ध दर्जनौं नेताहरु राप्रपामा प्रवेश गरेका छन्। राप्रपा शुक्लाफाँटा नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता राप्रपा प्रवेश गरेका हुन्।
राप्रपा प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट मानबहादुर ऐर, डम्बर बहादुर ऐर, हरिलाल ऐर, पारीसिंह ऐर, कृष्ण भट्ट, नेकपा माओवादीबाट मानसिंह साउँद, आटुराम डगौरा, टेकबहादुर सार्की, नेकपा एमालेबाट बिरबहादुर मल्ल, नरेन्द्र साउँद, उत्तम चन्दलगायत दर्जनौं नेताहरु रहेका छन्।
उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले फुलमाला लगाएर स्वागत गरेका थिए। कार्यक्रम राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशीलगायतका नेताहरुको सहभागिता रहेको थियो।