झलारी: कञ्चनपुरमा विद्यालय बसबाट खसेर गम्भिर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो। सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड ईङगलिस स्कुलको बसबाट खसेर गम्भिर घाइते भएको थिए।
भारतको लखनौंस्थित अस्पतालमा उनको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए। मृतक बालक कृष्णपुर नगरपालिका–२ स्थित मामाघरमा बस्दै आएका थिए। बालकको मृत्युपछि विद्यालय प्रशासनबिरुद्ध आन्दोलन भइरहेको छ। बालकका आफन्तले विद्यालयका सञ्चालकहरु सम्पर्कमा नआएको भन्दै तोडफोड गरेका छन्। विद्यालय क्षेत्रमा तनाव सृजना भएको छ।
मृतकका मामा शेरबहादुर विष्टले विद्यालयको लापरबाहीका कारण भान्जाको मृत्यु भएको बताए। ‘विद्यालयले उपचारमा लापरबाही ग¥यो,’ उनले भने, ‘उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लगेन, उपचारमा खर्च बढी आउने देखिएपछि भारतमा उपचार गर्न लगियो, बिहानसम्म भान्जासँग कुरा भइरहेको थियो।’ उनले बसबाट खसेर बालकको खुट्टामा मात्रै चोट लागेको बताए। ‘खुट्टामा चोट लागेको बालक कसरी मर्न सक्छ,’ उनले भने, ‘भान्जालाई मारिएको हो, घटनाको छानविन हुनुपर्छ।’ मृत्यु भएपछि विद्यालय प्रशासन सम्पर्कमा आउन नखोजेको उनको भनाई छ। ‘हामी सहजीकरण गर्न खज्दै थियौं, विद्यालयका सञ्चालकहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘अब कानूनी प्रक्रिया अनुसार अगाडि बढ्छौं।’
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज शर्मा नेतृत्वको टोली त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशी पनि घटना स्थलमा पुगेका छन्। उनले दुबै पक्षसँग छलफल गर्ने बताए। ‘दुबै पक्षका व्याक्तिहरुसँग छलफल गर्छौ,’ उनले भने, ‘छलफलपछि कानून अनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँछौं।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझालगायतका जनप्रतिनिधि पनि आन्दोलन भइरहेको क्षेत्रमा पुगेका छन्। स्थानीहरुले विद्यालयका फर्निचरहरुमा आगजनी समेत गरेका छन्। मृतक कुँवर कक्षा १ मा अध्ययनरत थिए। उनका बुबाआमा रोजगारीका लागि भारतमा छन्।