डोटीः डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो। सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्र कुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव हाल अस्पतालमै छ। मृतकका आफन्त घरबाट आइपुगेका छैनन् । ‘मृतकका आफन्त आइपुगेपछि मात्र घटनाको विषयमा सत्यतथ्य थाहा हुनेछ। अहिले मृतकका आफन्त आउँदैछन्। घटनाको अनुसन्धानका लागि तीन जना चिकित्सकलाई हामीले नियन्त्रणमा लिएका छौँ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान समेत भएको छैन।’